बेनीमा मगर संस्कृतिमा आधारित चलचित्र 'तिलेनी' को प्रर्दशन

October 21, 2010

मगर संस्कृतिमा आधारित फिल्म 'तिलेनी' हालै सदरमुकाम बेनीलगायत विभिन्न स्थानमा प्रदर्शन गरियो । जनसांस्कृतिक मञ्चका केन्द्रीय सदस्यसमेत रहेका लोकगायक डम्बर पुर्जा र चन्द्रशेर पुर्जाको लगानी रहेको फिल्मले मगर समुदायमा व्याप्त अन्धविश्वासमाथि प्रहार गरेको छ ।
 मगर समुदायमा तीन भाइ छोरापछि जन्मने छोरीलाई तिलेनी भन्ने चलन छ । मगर संस्कृतिमा यस्ता तिलेनीलाई विवाह गरे लोग्ने वा परिवारमा अनिष्ट हुने अन्धविश्वास छ । गाउँको एउटा सामान्य परिवारमा तिलेनी छोरीको जन्म हुन्छ । ठूली भएपछि विवाह नहुने डरले ग्रह टार्न भन्दै छोरीलाई सानैमा गाउँकै गरिब केटोलाई 'अब यो केटी तेरी भई' भाकल गरिन्छ । जब तिलेनी ठूली हुन्छे, असाध्य सुन्दर र रूपवती बन्छे । उता गाउँको मुखिया उसको रूपमा पागल बन्छ र आपmनो लाटो छोरोसँग विवाह गराउने योजना बुन्न थाल्छ । समाजका अन्य कथित ठूलाबडाका छोराहरूको नजर पनि तिलेनीमाथि गढ्छ । उसको अस्मिता लुट्ने प्रयत्न गरिन्छ । तर त्यही गरिबको छोरोले युवतीलाई बलात्कृत हुनबाट जोगाउँछ । गरिब युवकको यो अवरोध मुखियालगायत गाउँका ठूलाबडालाई मन पर्दैन । ऋण तिर्न नसकेको अभियोगमा त्यो गरिब युवकको परिवारलाई गाउँनिकाला गरिन्छ । गाउँबाट लखेटिएपछि सहर पुगेको गरिब युवकको परिवारले अनेक दुःखकष्ट झेल्दै जीवन निर्वाहमा लाग्छ । त्यस युवकले राम्रो पढ्ने अवसर प्राप्त गर्छ र ऊ पछि गाउँमा र्फकन्छ र तिलेनी जन्मनु अभिषाप होइन, यो अन्धविश्वास हो भन्दै युवतीलाई भगाएर विवाह गर्छ । दीपकमान उदास निर्देशित 'तिलेनी' मा शेरबहादुर रोका र माला गर्बुजाको मुख्य अभिनय छ । खलनायकको भूमिकामा निर्माता डम्बर छन् । 'यो फिल्म विशुद्ध मगर संस्कृतिमा रहेको सामाजिक अन्धविश्वासविरुद्ध बनाएका हौं । सबै जातिमा यस्ता फरक-फरक स्वरूपमा यस्ता अन्धविश्वास व्याप्त छन्,' डम्बरले भने, 'त्यसैले सबै जाति र धर्मका मान्छेले यो फिल्म मन पराएको पाएको छु ।'
कान्तिपूरबाट साभार





  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP