भब्य तयारीका साथ जुन २ तारिखको दिन म्याग्दी रनिङ कपको आयोजना हुंदै

May 10, 2013

कोरियाली भूमिमा प्रवासी नेपालीहरु बिच सर्वप्रथम प्रतिष्प्रर्धात्मक भलिबल खेल प्रतियोगिताको आयोजना गर्ने संस्था म्याग्दी समाज समिति दक्षिण कोरियाले बिगत बर्षहरु झैं यस बर्ष पनि भब्य तयारीको साथ म्याग्दी रनिङ कप २०१२ को आयोजना गर्न गई रहेको छ । आगामी जुन २ तारिख आईतबारको दिन आयोजना गर्न गईरहेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०१३ राजधानी सउल र ऊईजङबुको सिमानामा रहेको सिनहोङ कलेज माङवलसाको स्पोर्टस स्टुडियममा सम्पन्न हुने छ ।
गत बर्ष देखि म्याग्दी रनिङ कपलाई मिनि म्याग्दी महोत्स्वबको रुपमा बिकास गर्दै लैजाने सोंच
अनुरुप आयोजना स्थललाई सजिसजाउ , आकर्षक र अझ नयां रुप दिने तयारी भईरहेको छ । कार्यक्रममा उपस्थित दर्शक महानुभावहरुलाई बिगत बर्षहरुमा भन्दा यस बर्ष थप मनोरन्जन प्रदान गर्न बिशेष सांस्कृतिक रमझमको समेत तयारी गर्नुको साथै नेपाली परम्परागत रिङ खेल, गन शुटिङ, प्रतिष्प्रर्धात्मक लट्ठो तान्ने खेल लगायतका खेलहरु समाबेश गरिएको छ । सेलरोटी सहितको खाजा ब्यबस्थामा समेत अझ नयां नौलो र म्याग्देली पन झल्काउन बिशेष थप नयां परिकारहरुको समेत ब्यबस्था गरिएको छ । त्यस बाहेक म्याग्दी पात्लेखेटको छिप्पेको रातो भालेको मासु , म्याग्दी टोड्केको मुलाको अचार, म्याग्दी देबिस्थानको तीनपाने कोडोको रक्सी र म्याग्दी खोलाको असला माछाको सुकुटी उपस्थित दर्शक महानुभावहरुलाई चखाउन नेपालबाट कोरिया ल्याउने तयारी भईरहेको छ ।
गत बर्ष आयोजित म्याग्दी रनिङ कप २०१२ बाट मुनाफा भएको रकमले म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार स्थित म्याग्दी अस्पतालको आकस्मिक कक्ष नेरु १५ लाख रुपैयांको लागतमा निर्माण सम्पन्न गरि सकिएको छ भने यस बर्ष आयोजना हुने म्याग्दी रनिङ कप २०१३ पुर्णतयाः आपत्कालिन राहत कोष निर्माण सहयोगार्थ रहने भएकोले कोरियामा कार्यरत रहनु भएका सम्पूर्ण म्याग्देली लगायत प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP