हाम्रो अथक प्रयासबाट निर्मित आकस्मिक कक्षको उद्दातन र हस्तान्तरण कार्यक्रम सम्पन्न

July 1, 2013

सन्तोष गौतम, म्याग्दी २०७० असार १७ ।
रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका म्याग्देलीहरुको सहयोगमा जिल्ला अस्पताल बेनीमा आकस्मिक उपचार कक्ष भवन निर्माण सम्पन्न भएको छ । म्याग्दी समाज समिति दक्षिण कोरियाको १६ लाख ५६ हजार ८ सय ६४ रुपैया लगानीमा निर्मित दुई कोठे भवन सोमबार जिल्ला अस्पतालाई हस्तान्तरण गरिएको छ । पर्याप्त पुर्वाधार र संरचनाको अभावका कारण सेवा प्रवाह प्रभावित बनेको जिल्ला अस्पताल बेनीमा पुर्वाधार थप भएपछि बिरामीहरुलाई सहज हुने अपेक्षा गरिएको छ । चार शैया र उपचारकक्ष रहेको भवन निर्माण गर्न म्याग्दी समाज समिति दक्षिण कोरिया मार्फत त्यहाँबाट १ सय ९३ जनाले सहयोग गरेका छन् । म्याग्दीका १ सय १९ जना तथा पर्वत र दोलखाका ७४ जनाबाट आर्थिक सहयोग प्राप्त भएको भवन निर्माण समितिका सचिव मोहन बरुवालले बताए । यसैगरी गत वर्ष स्वास्थ्य शिविर सञ्चालन गर्न बेनी आएको नमस्ते कोरिया संस्थाले उपलब्ध गराएको ५० हजार रुपैया पनि भवन निर्माणमै खर्च गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख डाक्टर रोशन न्यौपानेले भवन अभावमा बिरामी कुरुवाको लागि निर्मित भान्छाकोठा भवनमा हाल दुई वटा शैया राखेर आकस्मिक सेवा दिने गरिएकोमा भवन सहित दुई शैया थप भएकाले सेवा प्रवाहमा सहज हुने बताए । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले प्रवासमा रहेर पनि जिल्लाको सामाजिक क्षेत्रमा दक्षिण कोरीयामा रहेका म्याग्देलीले अनुकरणीय काम गरेको भन्दै भवनको उपयोग गरि प्रभावकारी सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।
कोरियामा रोजगारीका लागि पुगेका म्याग्देलीहरुले चन्दा संकलन गरेर भवन बनाउन सहयोग गरिएको जानकारी दिदै म्याग्दी समाज समिति दक्षिण कोरियाका उपाध्यक्ष लोक बानियाले भवनमा आवश्यक पुर्वाधार र संरचनाका लागि पनि थप सहयोगका लागि पहल गर्ने बताए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुबिरकुमार श्रेष्ठ, पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष सुरज केसी, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल लगायतले भवनको प्रयोग र संरक्षण गरि प्रभावकारी सेवा दिनुपर्ने बिचार व्यक्त गरेका थिए । म्याग्दी समाज समिति दक्षिण कोरीया म्याग्दीका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षता, सचिव गोविन्द बानियाको सञ्चालन र उपाध्यक्ष यामबहादुर केसीको स्वागतमा सम्पन्न भवन हस्तान्तरण कार्यक्रममा जिल्ला अस्पताल म्याग्दीका अहेव भरत आचार्यले भवन निर्माणको बारेमा जानकारी गराएका थिए ।



  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP